बार्षिक ५० हजार बजाज मोटरसाइकल उत्पादन गर्दै गोल्छा ग्रुप,पार्टपुर्जा समेत नेपालमै बनाउने तयारी

आर्थिक समाचार


नेपालको ठूलो व्यवसायिक घरना गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलास प्रालिले नेपालमै बजाज मोटरसाइकलको पार्टपुर्जा उत्पादन गर्ने तयारी गरेको छ । निकट भविष्यमै कम्पनीले विदेशी प्राविधिक तथा टेक्निसियन ल्याएर पार्टपुर्जा उत्पादन गर्ने गृहकार्य थालेको हो ।

हाल गोल्छा ग्रुपले बजाज बाइकको एसेम्बल उत्पादन गर्दै आएको छ । नवलपरासीमा रहेको उद्योग मार्फत बार्षिक ५० देखि ६० हजार भन्दा बढी मोटरसाइकल उत्पादन हुँदै आएको गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छाले जानकारी दिए । ‘हाल विदेशबाट पार्ट्स ल्याएर मोटरसाइकलको एसेम्बिलङ मात्रै भइरहेको छ जसको कारण मूल्य घट्न सकेको छैन तर, निकट भविष्यमै नेपालमै मोटरसाइकका लागि आवश्यक पार्टपूर्जा नेपालमै उत्पादन गरेर ‘लोकलाइज’ गर्ने तयारीमा छौं’ गोल्छाले भने ।

नेपालमै पार्टपूर्जा उत्पादन हुन लागेपछि ग्राहकले सस्तोमा मोटरसाइकल खरिद गर्न पाउने र अहिले भइरहेको सेवा र पार्टपूर्जा पनि सस्तो हुने उनको भनाई छ । गोल्छा ग्रुपले हाल बजाजका सबै मोटरसाइकल नेपालमा मै उत्पादन गर्दै आएको छ । ‘हामीले नेपालमा विक्री वितरण गर्दै आएको सबै प्रोडक्ट नेपालमै एसेम्बल प्लान्ट उत्पादन भइरहेको छ’ अभिमन्यु भने ‘विगत चार बर्षदेखि नेपालमै मोटरसाइकल उत्पादन गर्दै आइरहेका छौं’ ।

नेपालमै बजाज बाइक एसेम्बल उत्पादनले २०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । हाल गोल्छा ग्रुपले पल्सर १५० र पल्सर २२० सबैभन्दा बढी उत्पादन भइरहेको छ । पछिल्लो समय पल्सर १५० सिङ्गल डिक्सले भन्दा पनि डबल डिक्सले बजार लिइरहेको छ । बजाजको एनएस २०० पछिल्लो युवा पुस्तामा बढी लोकप्रिय छ भने २२० पल्सर कम्फर्टेबलको हिसाबमा अब्बल छ । केहि हप्ता अघि मात्रै कम्पनीले बजाज डोमिनार २५० नेपाली बजारमा भित्र्याएको थियो ।

कोभिडपछि ग्राहकको दुई पाँग्रे सवारीमा अकर्षित भएको कारण कोडिमा पेन्डिङ रहेको डिमान्डलाई अझै पुरा गर्न नसकेको निर्देशक गोल्छाले बताए । नेपालमै उत्पादन भइरहेको कारण पनि नेपालमा बजाज बाइकको मूल्य सस्तिँदै गएको उनको भनाई छ । अहिलेपनि नेपालमै बजाजका प्रोडक्ट उत्पादन भइरहेको कारण साढे दुई प्रतिशत मूल्य ग्राहकलाई सस्तो पर्दै आएको छ ।

गोल्छा ग्रूपले बजाज मात्रै नभइ केटिएम मोटरसाइकलपनि नेपालमा विक्री गर्दै आएको छ । केटीएम बाइक भने नेपालमा प्रविधि र आर्थिक हिसाबमा पनि तत्काल एसेम्बल उत्पादन गर्न सम्भव नभएको निर्देशक गोल्छाको भनाई छ । बजाजपछि नेपालमा टिभिएसलेपनि गत बर्षदेखि नेपालमै मोटरसाइकल उत्पादन थालेको छ । नेपालमै मोटरसाइकलको एसेम्बल उत्पादन भएपनि मूल्यभने घट्न सकेको छैन । Merolagani.com बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *