खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही, तीन लाख जरिवाना

समाचार

७ माघः वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाइँ बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरिएको बताउनुहुन्छ । उहाँका अनुसार बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाहीस्वरुप रु तीन/तीन लाख जरिवाना गरिएको हो ।

पछिल्लो समय बजारमा खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । तीन महिनाअघिको तुलनामा हाल तोरीको तेलको मूल्य प्रतिलिटर रु ४०, सनफ्लावर तेल प्रतिलिटर रु ४० र भटमासको तेल लिटरमा रु २० भन्दा बढीले मूल्य बढाइएको छ ।

अनुगमनका क्रममा अस्वभाविक रुपमा बढाइएको खाने तेलको मूल्यवृद्धि सच्याउन निर्देशन दिइएको छ भने निर्देशनका पालना नगरे कानूनअनुसार थप कारवाही हुने जनाइएको छ । मागअनुसार स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा पछिल्लो समय खाने तेलको मूल्यमा वृद्धि भएको व्यवसायी बताउँछन् । (रासस)

अर्को समचार पनि पढ्नुहोस्

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाखभन्दा बढी चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । कार्यालयमा भीड भएको भन्दै अनुमतिपत्र वितरण हाललाई स्थगित गरिएको जनाएको छ । कार्यालयले विभागबाट छापिएर आएका धेरै अनुमतिपत्र वितरण गर्न बाँकी रहेका जानकारी दिएको छ । सरकारले गत चैतदेखि जारी बन्दाबन्दी असारदेखि खुल्ला गरेपछि कार्यालयले असार र साउनको दोस्रो सातासम्म अनुमतिपत्र वितरण गरेको थियो ।

बन्दाबन्दीपछि झण्डै ४० हजार अनुमतिपत्र वितरण गरिएको कार्यालय प्रमुख डम्बरबहादुर कार्कीले बताउनुभयो । कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ अनुमतिपत्रको परीक्षा र अनुमतिपत्र दिने दुवै काम रोकिएको छ । उहाँले भन्नुभयो, “अहिले हामीले नवीकरण मात्रै गरिरहेका छौँ ।”

यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा समेत अनुमतिपत्र छपाइ गरिरहेको थियो । गत पुससम्मको अनुमतिपत्र छपाइ भएर आइसकेको उहाँले जानकारी दिनुभयो । विभागले छपाइ जारी राखेकाले चैत पहिलेका अनुमतिपत्र समेत छपाइ चाँडो भइसक्ने बताइएको छ । वितरण र नयाँ अनुमतिपत्रका लागि परीक्षा भने तत्काल खुल्ला नहुने देखिएको छ । उहाँले भन्नुभयो, “उपत्यकामा सङ्क्रमण बढिरहेकाले यहाँका सबै कार्यालयले यी सेवा बन्द गरेका छौँ ।”

केही वर्ष पहिलेसम्म चालक अनुमतिपत्र बनाउन यही कार्यालयमा भीड हुन्थ्यो । अहिले उपत्यकामा चार कार्यालयबाट यो सेवा दिइँदै आइएको छ । सबैभन्दा बढी यात्रुको भीड भने एकान्तकुनास्थित कार्यालयमा नै देखिन्छ । बन्दाबन्दीपछि कार्यालयमा भीडभाड अत्यधिक भएकाले सङ्क्रमणको त्रास रहेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *