अफगानिस्तानमा रहेका नेपालीलाई लिन नेपाल वायु सेवा निगमको जहाज भदौ १० मा काबुल जाने

समाचार

नेपाल वायु सेवा निगमले अफगानिस्तानको राजधानी काबुलका लागि भदौ १० मा चार्टर उडान गर्ने भएको छ ।

निगमका एक निर्देशकका अनुसार त्यहाँका विभिन्न कम्पनीबाट लकडाउनअघि बिदामा घर आएर फर्कन नसकेकालाई पुर्याउन र फर्किन खोजिरेहका नेपालीका लागि उडान गर्न लागेको हो ।

‘यो चार्टर उडान दुबईको एउटा कम्पनीले गर्न लागेको हो’, उनले भने, ‘आइतबार निगमलाई चार्टरबापतको भाडा प्राप्त भइसकेको छ ।’

‘बुकिङ गर्ने कम्पनीले यात्रा गर्नेहरु जाने र फर्किने कम्तीमा ७०/७० जना नेपाली हुने भनेको छ । प्रतिघण्टा ७ हजार ७ सय १० अमेकिरी डलरका दरले चार्टर उडान हुनेछ’ उनले भने ।

३ घण्टाको उडानमा निगमले न्यारोबडी एयरबस ३२० पठाउने भएको छ । उडानका लागि नेपालले भारत र पाकिस्तानको हवाई रुट प्रयोग गर्नुपर्ने भएकाले ओभरफ्लाइ अनुमति लिनुपर्छ । त्यो अनुमत्ति छिट्टै हुन्छ ती निर्देशकले भने, परराष्ट्र मन्त्रालयसँग केही प्रक्रियागत काम मात्रै बाँकी छ ।

सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार र समन्वयको जिम्मेवारीलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । त्यहाँ रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धारको प्रबन्ध मिलाउन आफूले आइतबार नै निर्देशन दिइसकेको उनले जनाएका छन् ।

‘सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

तालिवान लडाकुले अफगानिस्तानको सत्ता हातमा लिएसँगै अमेरिका, बेलायतलगायत मुलुकले काबुलस्थित आफ्ना दूतावासमा कार्यरत नेपाली कामदारलाई फर्काउन थालेका छन् । उद्धारअघि नेपालीको पीसीआर परीक्षण पनि गर्न थालिएको छ ।

उद्धार गरिएका नेपालीलाई दुबई, दोहा र लन्डन पुर्‍याउन थालिएको छ । अमेरिकी दूतावासको सुरक्षामा खटिएका ३ सय ८५ जना नेपाली सुरक्षा गार्डलाई जतिखेर पनि उड्नुपर्ने गरी तयारी अवस्थामा राखिएको छ ।

काबुलस्थित बेलायती दूतावासमा कार्यरत ८७ जना नेपाली सुरक्षा गार्डलाई आइतबार राति नै बेलायत लैजाने गरी तयारी अवस्थामा राखिएको थियो ।

नेपाल सरकार पनि अफगानिस्तानमा बढ्दो द्वन्द्वलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकलाई उद्धार गरेर ल्याउन एक कार्यदल बनाएको छ । रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार कार्य गर्न परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार श्रावण २८ सम्म १४ हजार ८ सय ९२ जनाले श्रम स्वीकृति लिएर अफगानिस्तान गएको तथ्यांक छ । जसमध्ये ८ हजार जनाले पहिला अफगानिस्तानमा काम गरी फर्केर श्रम स्वीकृतिको अनुमति लिई पुनः गएको रेकर्ड छ । उल्लिखित तथ्यांक म्यानपावर कम्पनी र व्यक्तिगत श्रम स्वीकृति लिई गएकाहरूको हो । अरू प्रक्रियाबाट त्यहाँ गएका नेपालीको संख्या पनि निकै रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *