खाडीबाट एक लाखभन्दा बढी श्रमिकको माग तर नेपाली जान पाएनन्

प्रबासी

खाडी मुलुकबाट एक महिनामा एक लाखभन्दा बढी श्रमिकको माग आएको छ । रोजगारदाताले ताकेता गरेपनि नेपाली युवा रोजगारीका लागि जान पाएका छैनन् । नेपाली दूतावासले माग प्रमाणिकरण नगरेकाले वैदेशिक रोजगारी प्रभावित भएको हो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि चैतदेखि रोकिएको पूर्व र अन्तिम श्रम स्वीकृति सरकारले भदौ १४ गते सुचारु गर्ने निर्णय गर्यो । यो दुई महिनामा करिब ६ हजार युवाले श्रम स्वीकृति पाए । जबकि पछिल्लो एक महिनामै एक लाख श्रमिकको माग आइसकेको छ । वैदेशिक रोजगार व्यवसायीका अनुसार साउदी अरेबियाबाट मात्र ५० हजारभन्दा बढी श्रमिकको माग आएको छ ।

युएई, ओमान, बहराइन लगायत मुलुकले पनि श्रमिक पठाइदिन भनेका छन् । तर दक्ष र अदक्ष दुवै श्रमिकको माग प्रमाणिकरण भएको छैन । सरकारले माग प्रमाणिकरणको अधिकार यसअघि नै नेपाली दूतावासलाई दिएपनि उनीहरुले आफ्नो जिम्मेवारी वहन नगर्दा युवाहरु रोजगारीबाट वञ्चित भएका हुन् ।

नेपाली दूतावासका आफ्नै गुनासा छन् । कोरोना महामारीले रोजगारी गुमाएका र बेखर्ची भएका श्रमिकको व्यवस्थापन गर्न हम्मे परिरहेकाले नया माग प्रमाणीकरणमा ध्यान दिन नसकेको दूतावासका अधिकारीले बताएका छन् । उनीहरु सीमित जनशक्तिबाट धेरै काम गर्नुपर्ने जनाउादै तत्कालै माग प्रमाणिकरणको पक्षमा छैनन् ।

नेपाली युवाका गन्तव्य मुलुक मलेसिया, कुवेत र कतारले भने महामारीका कारण श्रम बजार खोलेका छैनन् । श्रमिक पठाएर कमाउन पल्केका व्यवसायीले ती देशमा समेत रोजगारदाताले श्रमिक माग्न थालेकाले श्रम बजार खुलाउन कुटनीतिक पहल गर्नुपर्ने लबिङ गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *