पशुपति शर्मा, कमला घिमिरे र मेनुका परियारको पहिलो गीत दाँते ओखर

समाचार

पशुपति शर्मा, कमला घिमिरे र मेनुका परियारको पहिलो गीत दाँते ओखर




याे समचार पनि पढ्नुहोस्

कुरो ७१ वर्ष बूढो असारको हो । रुकुम तुसेराबाट छक्कालै १५ वर्षको एकजोर कलिला गोडा आफूजस्तै ‘सङ’ सँग नाना, दाजु, काकु र पागुका गोडा पछ्याउँदै भोटे नुन लिन उकालिन्छ । भाषाविद् डेभिड वाटरले तुसेरामै बसी लामो समय मगर खाम/पाङ भाषा अध्ययन गरेका हुन् ।

हो, उही तुसेराका दुई दर्जन जतिको हटारु त्यो हूलले ठूलोखर्क काट्छ । धुरी चढ्छ । उनाम ओर्लन्छ । त्यसपछि ? पिल्मा तर्छ । हूल उकाएर मैमा बास बस्छ । जंगलैजंगल उकालो बाटो रिजा, डुले पुग्न पश्चिमोत्तर लाग्छ । नैताले हुँदै झन्डै दुई घण्टा उकालिन्छ । बल्ल हटारु हूल सिङखोला पुग्छ ।

हटारु हूल सिङखोला ओडारमा बास बस्छ । गाउँछन्– घरी ‘नानी लै’ त घरी ‘स्यानिमाय’ । बाटोमा वा बासमा भेटिने अन्य गाउँका हटारुसित पनि यिनै लोकभाका गाउँछन् । मेलापातमा मात्र होइन, नुन हाटका अप्ठेरा बाटो पनि ‘गीत गोडा’ ले छिचोल्छन् ।

वर्षको एकपालि अर्थात् बर्खातिर हटारु हिँड्ने नुने बाटो हो यो । त्यसैले बाटोको नाउँ मात्र छ । नियमित नहिँड्ने बाटोको हाल कस्तो हुँदो हो ? हो, हटारु हिँड्दा बनेको दुब्लो बाटो हो, जसको यो पनि बाटो हो भन्ने ‘बाटोको अङ्ङे’ मात्र छ । तिनै नाम मात्रको बाटोमा उकालिँदै हटारु हूल ३९५० मिटर अग्लो पुपाल पुग्छ । डोको बिसाउँछ । पसिना ओभाउँछ ।

पाका हटारु भन्छन्, ‘अब उछट्टे नाच । सबभन्दा पहिले फिरी नाच् ।’

फिरीसहित छ जना पहिलोपालि नुन हाट हिँडेका हटारु हुन् । पहिलोपालि जानेलाई उछट्टे भन्छन् भने तिनलाई नचाउनुलाई उछट्टे नचाउने । पाका हटारु नानाभाँती गीत गाउँछन् । गाउन लगाउँछन् । छचनिन्छन् । र, उछट्टेलाई नाच्न लगाउँछन् ।

उछट्टे नाचेको तालमा हटारु हूलबाट खित्का छुट्छ । उछट्टे नचाएपछि हटारु तन र मन भुर्र उड्लाजसरी चंगा हुन्छ । नाचगानपछि हिँडेको हटारु हूलले अर्बिजा काट्छ । पुर्बाङखोला पुग्छ । उकालिएर ठाङ्ङेको जङ्ला पुगेर वारिपारि आँखा डुलाउँछ । रुकुम–डोल्पाको त्यो सीमामा हूलले पसिना पनि ओभाउँछ ।

जङ्लाबाट ओरालिएको हटारु हूलले बल्ल रिम्नामा सानीभेरी भेट्न हतारिएको ठूलीभेरी वल्लोपट्टिको गाउँ भेट्छ, जुनबेला सूर्यले त्यस दिनका लागि बिदा मागिसकेको हुन्छ ।

हटारु भन्छन्, ‘आइपुगिम्, तारभोट !’

आफ्नो ‘र्‍याङ’ को घरमा हटारु हूलले नुन बोक्ने भारेडोका (सानो प्वालवाल चोयाको डोको) बिसाउँछ । मडुस (काठको बाकस) भरि नुनै नुन देखेर उछट्टे आँखा झन् ‘हलाक्’ हुन्छन् ।

भोलिपल्ट नुन बोकेर हटारु हूल चुइचुइ घरतिर लाग्छ ।

जाँदा या फर्कंदा, रोल्पाको थबाङसहित रुकुमका कारी, कोल, रासी, मई, लुगुम, उनाम, मैका हटारुसँग भेट हुन्छ । कुनैसँगै बासमा त, कुनै गाउँका हटारुसँग बाटोमा ।

तपाईंलाई लाग्यो होला, यो के हटारु किस्सा हो ?

यो त वाग्मती भेट्न हतार गोदावरीखोलासँगै बगेको फिरी बुढामगर (८५) को स्मृतिखोला हो । गोदावरी किनारको टिनछाने टहराभित्र बग्दै ७१ वर्ष पुरानो उही ताराभोट पुग्छिन् । अचेल त सपनामा समेत जान छाडेको ताराभोटको पानीफोटो सम्झेर फिरीले लामो सास फाल्छिन्, ‘फेरि ताराभोट जान यो जुनीमा त कहाँ लेखेको होला र !’ ताराभोटमा अचेल न हटारु लर्को छ न छार्काभोट जाने चौंरीको । न जडानबाट खसान र खसानभन्दा पनि झन औल ओर्लने जाक्ना, घोडा र खच्चरको लर्को लाग्छ ।

फिरीहरू पनि कहिले भोटे नुन लिन ताराभोट पुग्छन् त कहिले छार्काभोट । सायद रोल्पा, रुकुमतिरका हटारुले छार्काभोटजस्तै भोट सम्झेर ताराकोटलाई नाम दिए होलान्, ताराभोट । बमकुमारी बुढामगरका अनुसार खस राज्य विस्तारअघि १८ मगरातको एक राज्य हो, ताराकोई । र, खस–नेपालीकरण तथा हिन्दूकरणपछि ताराकोई हुन्छ, ताराकोट ।

ताराभोट भनिने हिमाली उपत्यका हो, जसलाई मानवशास्त्री जेम्स एफ फिसरले नाम दिएका छन्, तिचुरोङ । त्यहाँ ताराकोटसहित गुम्बातारा, तुम्तारा र सहरतारा गरी १९ गाउँ छन् । अहिले डोल्पा जिल्लाको काइके गाउँपालिका हो । तिचुरोङवासीलाई तराली मगर (जनसंख्या ३७१८ जसमा काइके भाषी १२२६ र पोइके (तिचुरोङके) भाषी २४९२) भन्छन् ।

झिलिमिली ताराभोटहरू

सुजित मैनाली (१३ भदौ, २०७७, कान्तिपुर कोसेली) लेख्छन्, ‘नरेन्द्रदेवको पालामा भोटसँगका हिमाली नाकाहरू सहज भएपछि उकालिएको व्यापार मल्लकालसम्म चरमचुलीमा पुगेको थियो ।’ त्यसताका नेपालले किन्ने मुख्य सामान नुन हो । त्यसपछि ऊन अनि सुन । सन् १९६० अघिसम्म तिब्बत सीमाका विभिन्न नाका हुँदै नेपाली भान्सा–भान्सामा भोटे नुन पुग्छ ।

तरालीसहित हिमाली भेगका भोट–बर्मेली भाषा परिवारका विभिन्न भाषा बोल्ने समुदायले चौरी, झोपा, च्याङ्ग्रा, चेल, घोडा र खच्चरमा अन्न लदाएर तिब्बत लान्छन् । अन्नसँग भोटे नुन साटेर फर्कन्छन् । कर्णाली र भेरीतिरको कुरा गर्ने हो भने, तिनै नुन लिएर कर्णाली र भेरी नदी किनारैकिनार ओर्लन्छन् । भोटे नुन लिएर अन्न साट्न सुर्खेत, नेपालगन्ज पुग्छन् । जाक्ना (भेडा/बाख्रा) भग्रीहरू भोटे नुन बोकेर राजापुर पुग्छन् । टनकपुर पुग्छन् ।

हुम्ली अनुसन्धाता दीपेन्द्र रोकायाअनुसार, भारतमा अंग्रेज उपनिवेश नहुँदासम्म भोटे नुन लखनउसम्म पुग्छ । नुने बाटा नै विश्वका धेरै देशमा मोटर तथा रेलमार्ग बनेका छन् । उपल्लो डोल्पा, हुम्लाका अन्न तथा नुन ओसारपसार गर्ने नुन बाटो त अन्तर्राष्ट्रिय नुने बाटो हुन् भनिन्छ ।

तरालीसहित भोटवर्मेली परिवारको भाषा बोल्ने समुदायको पकडमा रहन्छ, भोटे नुनको व्यापार । यसको मूल कारण हो, तिनका लागि भाषा र भूगोल अनुकूल हुनु । तिनले खसानतिरको खस नेपाली पनि जान्दछन् भने भोटको तिब्बती पनि । अनुसन्धाता एवं हुम्ली सांसद छक्कबहादुर लामाका अनुसार उत्तर र दक्षिणमा नुन, ऊन र अन्न विनिमयको गज्जबको व्यापार चलेको हुन्छ, कर्णालीमा ।

लामा थप्छन्, ‘नेपालमा सुनजस्तै मूल्यवान भोटे नुन व्यापारबाट सिंगो कर्णालीले सास फेर्थ्यो ।’ भोटे नुन पांग्राले कर्णालीसहित हिमाली लोकजीवनको आर्थिक, सामाजिक, सांस्कृतिक गाडी गुडेको हुन्छ । पश्चिममा भोटे नुनको मूलथलो पुराङबास (ताक्लाकोट) हो भने तिनका मूल नुन हाट यलबाङ (हुम्ला) र सिंजा (जुम्ला) ।

फिरीहरू ताराभोट नुन हाट जाँदा तराईका विभिन्न भागमा भारतीय नुन केन्द्र बनिसकेका हुन्छन् । जसमा मुख्य नुनथलो सुदूरपश्चिममा महेन्द्रनगर, मध्यपश्चिममा नेपालगन्ज, अझ मध्यभागमा बटौली (बुटवल) र पूर्वमा धरान हुन् । फिरीहरू भारतीय नुन लिन कोइलाबास जाने क्रम जुन गतिमा बढ्छ, त्योभन्दा पनि तीव्र गतिमा घट्छ, भोटे नुन लिन ताराभोट जाने सिलसिला ।

हटारुले आफ्ना भान्सामा नुन लिन ठूलो जोखिम मोल्छन् ।

चलचित्र कथा खोज्दै म्याग्दी गुर्जा हिमालमुन्तिर पुगेका फिल्म निर्देशक अनिल बुढामगर सुनाउँछन्, ‘भोटे नुन लिन जाँदा कोदालो, बेल्चा र कात्रो लिएर जान्थे रे ।’ हिउँले पुरिएर या लडेर मर्ने हटारुलाई बिदा गर्न कात्रो सामा गरी नुन हाट गएका हुन् ।

रुकुम गोतामकोटका कमारा विष्ट (८८) ले (पोहोर वैशाख…) भोटे नुन लिन जाँदाको सम्झना सकस सुनाएका छन्, ‘पैतला अडिने ठाउँ कोदालोले खन्दै जान्थ्यौं । तल हेर्‍यो, आँखा मन्कने भेरी, माथि पहरा । सातोपुत्लो उतै छाडेर आउँथ्यौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *