Shadow

मलेसियाका नेपाली कामदार दलालको हातमा, चोकैपिच्छे भेटिन्छन् दलाल

क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए । काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार बोलाएपछि उनले मन थाम्न सकेनन् ।

त्यसैले फर्कन हतारिएका थिए । तर गैरकानुनी हैसियतमा भएकै कारण उनलाई घर फर्किन महँगो परिरहेको थियो । २६ सय रिंगिट अर्थात् नेपाली ६५ हजार नेपाली रुपैयाँ ‘दलाल’ को हातमा सुम्पेर घर फर्कने मेलोमेसो मिलाउँदै थिए उनी । भट्टले तिरेको पैसा ‘आवश्यक’ रकमभन्दा एक तिहाइले बढी हो ।

वैशाखयताको चार महिनामा मात्रै उनीजस्तै ६ हजार ६ सय ८३ गैरकानुनी हैसियतका नेपाली कामदारले ट्राभल डकुमेन्ट बनाएको दूतावासको रेकर्ड छ । अहिले ‘विधिसम्मत’ रूपमा प्रत्येक कामदारले घर फर्कंदा हवाई शुल्कसहित कम्तीमा २३ सय रिंगिट खर्च गर्नुपर्ने देखिन्छ ।

जसमा ट्राभल डकुमेन्टका लागि १ सय ६० रिंगिट, फोटोका लागि २० रिंगिट, घरफिर्ती प्रक्रियाका लागि मलेसिया सरकारले तोकेको कम्पनी हारफासेले लिने सेवा शुल्क ५ सय ५० रिंगिट, मलेसियाको अध्यागमन कार्यालयमा बुझाउनुपर्ने ४ सय रिंगिट र हवाई शुल्क समेटिएको हुन्छ ।

अहिले तोकिएकै नियमअनुसार पनि प्रत्येक कामदारबाट ‘दलाल’ ले औसतमा तीन सय रिंगिट बढी असुलेको देखिन्छ । अर्थात् पछिल्लो चार महिनामा मात्रै नेपाली कामदारबाट नेपाली ‘दलाल’हरूले ४ करोड ८१ लाख रुपैयाँ गैरकानुनी असुलेको देखिन्छ ।

मलेसियास्थित नेपाली राजदूत निरन्जनमान सिंह बस्न्यात नै भन्छन्, ‘एउटा नेपाली कामदारबाट एजेन्टले ४–५ सय रिंगिट कमिसन खाइरहेको देखिन्छ ।’

पछिल्ला महिनामा गैरकानुनी कामदारप्रति मलेसिया सरकारले कडा नीति अख्तियार गरेयता घर फर्कनेको संख्या बढदो छ । दूतावासले वैशाखमा मात्रै घर फर्कन चाहने गैरकानुनी हैसियतका नेपालीलाई १ हजार १ सय ३५ ट्राभल डकुमेन्ट जारी गरेको थियो ।

दूतावासले जेठमा १ हजार १ सय २१, असारमा १ हजार ७ सय १, साउनमा १ हजार ६ सय ८ र भदौ अन्तिम सातासम्म १ हजार १ सय १८ ट्राभल डकुमेन्ट जारी गरेको देखिन्छ । पछिल्ला तीन वर्षमा मात्रै दूतावासबाट एक लाख ४३ ट्राभल डकुमेन्ट जारी भएका छन् ।

दूतावासको आँगनमा मौलाइरहेको कामदार लुटको चर्को शृंखला डेढ वर्षअघि सुरु भएको हो, जतिबेला मलेसियन सरकारले हारफासे नामक कम्पनीलाई गैरकानुनी नेपाली कामदार घर पठाउने जिम्मेवारी सुम्पिएको थियो । गैरकानुनी कामदारको हैसियतमा रहेका नेपालीको घरफिर्तीका निम्ति सहजीकरणको जिम्मा पाएको यो कम्पनीले अवैध रूपमा ‘सेवा शुल्कबापत’ भन्दै ५ सय ५० रिंगिट अतिरिक्त शुल्क लिन थालेपछि घरफिर्ती महँगो परेको छ ।

त्यतिमात्रै कहाँ हो र हारफासेका निम्ति कामदार पुर्‍याइदिने जिम्मा पाएका वैध र अवैध एजेन्टले त्यसमाथि थप शुल्क असुलेर कामदार ठग्छन् । हवाई टिकटदेखि होटलमा कामदार राखेबापत र फोटोकपीदेखि फोटो खिच्ने प्रत्येक काममा दलालहरूको कमिसन शुल्क त जोडिन्छ नै ।

अनौठो त के छ भने हारफासेका वैध एजेन्ट को–को हुन् भन्नेबारे न दूतावास जानकार छ न हारफासेको कार्यालय कहाँ छ भनेर नै दूतावासले बताउन सक्छ । यसरी संस्थागत ठगी र त्यसैको आडमा मौलाइरहेका दलालको चंगुलमा नेपाली कामदार परिरहेका छन् ।

दूतावासको मौनताकै कारण दूतावासकै आँगनमा ‘दलाल राज्य’ निर्वाध चलिरहेको छ । जसबाट भट्टजस्ता कामदार पसिना बगाएर कमाएको रकम दलाल पोस्नमा खर्च गर्न बाध्य भइरहेका छन् ।

हारफासेले सेवा सुरु गर्नुअघि दूतावासले मलेसियाको एक सामाजिक संस्था ‘कोअपरासी इमिग्रेसन’ लाई गैरकानुनी कामदार पठाउने जिम्मा दिएको थियो । कोअपरासीले प्रतिकामदार १ हजार २ सय ८० रिंगिट शुल्क लिएर कामदार घर पठाउँथ्यो । त्यसलाई लिएर दूतावासविरुद्ध नेपालको सर्वोच्च अदालतमा मुद्दा परेपछि र उक्त संस्थाले आफूखुसी शुल्क बढाएर १ हजार ६ सय ८० रिंगिट पुर्‍यायो ।

त्यसपछि कोअपरासीसँग दूतावासको सम्झौता तोडियो । त्यसलगत्तै मलेसियाको गृह मन्त्रालयले हारफासेलाई नेपाल, कम्बोडिया, इन्डोनेसिया र भियतनामका गैरकानुनी कामदारको घरफिर्ती प्रक्रियामा सहजीकरण गर्ने जिम्मा दियो । त्यसयता घरफिर्ती प्रक्रिया महँगो मात्रै भएन, दलालको संलग्नता पनि हवात्तै बढ्यो । ‘दलाल’को तहगत ठगीमा पर्नु मलेसियाका गैरकानुनी नेपाली कामदारका निम्ति नौलो होइन ।

त्यसो त भट्टजस्ता अधिकांश कामदार राजधानी क्वालालम्पुर आउनुअघि नै दलालको पासोमा परिसकेका हुन्छन् । फोनमार्फत दलालसँग जोडिएका कामदार उनीहरूले भनेजति पैसा तिर्न र लुरुलुरु पछि लाग्न विवश हुन्छन् । भाषाको समस्या, यात्रा असहजता र दूतावासप्रतिको चरम अविश्वासका कारण भट्टजस्ता कामदार दलालको चंगुलमा पर्छन् । कोतराय र जलान आम्पाङको गल्लीपिच्छे नै भेटिने नेपाली ‘दलाल’ को हात नसमाती नेपाल फर्किने सपना पनि देख्न नसक्ने परिस्थितिको उल्झनमा परेका एक पात्र थिए भट्ट ।

गत बिहीबार दूतावासमा भेटिएका भट्ट अन्य दुई नेपालीलाई ट्राभल डकुमेन्ट बनाइदिन साथी बनिदिएर आएका थिए । ती दुई नेपालीलाई दूतावास पुर्‍याइदिने र लाइनमा राखिदिने जिम्मा उनले एक नेपाली दलालबाटै पाएका थिए । त्यही दलालको भर परेर घर जाने आसमा तीन दिनदेखि क्वालालम्पुर बसिरहेका भट्टले भने, ‘आमा छिटो घर आइज भनेर रातदिन रुनुहुन्छ ।

अहिले त पैसाको के मतलब भयो र जसरी भए पनि घर जान पाए भयो ।’ आपतमा परेका भट्टजस्तै झन्डै ५० नेपाली ट्राभल डकुमेन्ट बनाउन लाइनमा उभिएका थिए । तिनलाई केही सुकिलामुकिला एजेन्टले कानेखुसी गरेर केही अथ्र्याइरहेका थिए । कान्तिपुरले कुराकानी गरेका अधिकांश कामदारले आफूले दलाललाई २३ सयदेखि २७ सय रिंगिटसम्म बुझाएको बताए ।

नागी–१ पाँचथरका पूर्णहाङ इम्बुङ आफ्ना एक साथीसहित अशोक भन्ने एजेन्टको पछि लागेर दूतावास आएका थिए । १४ महिनाअघि कम्पनी छाडेर पेनाङस्थित कम्पनीमा गैरकानुनी हैसियतमा काम गरिरहेका पूर्णहाङ पनि दलालकै आश्वासनको भरमा घर जाने आसमा दूतावास आएका हुन् । आफूले नौलो मान्छेसँग कुरा गरेको दलालले देख्यो भने गाली खाइएला भनेर उनी खुलेर कुरा गर्न डराए । यति मात्रै भने, ‘घर जान पाए पुग्यो ।’

समूह–समूहमा नेपाली कामदार ल्याएर दूतावास छिरेका एजेन्टहरू कामदारलाई अरूसँग कुरा नगर्न र कति पैसा तिरेको छु भनेर नभन्न अथ्र्याइरहेका हुन्छन् । दूतावासका अधिकृत विनोद मुखिया गरिब नेपालीको पैसा दलालले खाइरहेको बताउँदै भन्छन्, ‘बडो समस्या छ ।’

चोकैपिच्छे दलाल
विकासको तीव्र गतिमा अघि बढिरहेको क्वालालम्पुरको चमकधमकमा जोकोही नेपालीका पनि आँखा तिलमिलाउँछन् । तर यही चमकधमकको मुन्तिर सलबलाइरहेका ‘दलाल’ बाट ठगिने नेपाली कामदारहरूको कथा चुक घोप्ट्याएजस्तो अध्याँरो छ ।

यहाँस्थित नेपालीले सञ्चालन गरेका होटल हुन् वा किराना स्टोर सबैमा एक–एक जना एजेन्ट भेटिन्छन् । थकित र गलित नेपाली देख्ने बित्तिकै तिनीहरू हात समात्न आइपुग्छन् र खानेबस्नेदेखि घर पठाइदिने सबै व्यवस्था मिलाइदिने बाचा गर्छन् । कतिसम्म भने दूतावासकै अगलबगलमा रहेका फोटोकपी सेन्टरदेखि रेस्टुराँसम्ममा छयापछ्याप्ती दलाल भेटिन्छन् ।

आफूलाई हारफासेको आधिकारिक एजेन्ट बताउने नेत्र केसी दूतावासकै छेवैमा फोटोकपी र फोटो स्टुडियो चलाएर बसेका छन् । केही समयअघि कामदार ठगेको लगायत आरोपमा मलेसियन प्रहरीबाट पक्राउ परेर छुटेका केसीले दूतावासको अगलबगलमा करिब एक सयको संख्यामा एजेन्ट सक्रिय रहेको बताए ।

उनी आफूले प्रतिकामदार २२ सय ६० र २३ सय ६० लिएर घर पठाउने काम गरिरहेको हाकाहाकी बताउँछन् । केसीले आफूले दु:ख पाएका नेपालीको सेवा गरेर र खानेबस्ने तथा यातायात सहितको सबै शुल्क जोडेर त्यति रकम लिएको हिसाब सुनाए ।

उनले कतिपय अनधिकृत एजेन्टले कामदारसँग चार हजार रिंगिटसम्म असुलेको उल्लेख गर्दै भने, ‘म त कामदारलाई सेवा शुल्कको रसिद नै दिन्छु । तर धेरैजसो एजेन्टले घर पठाउने नाममा चर्को शुल्क असुुल्छन् र यातना दिएर पनि ठग्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *